काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मानिन्छ । शुक्रबार बिहान ८ः३३ बजेको शुभसाइतमा मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकार्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् ।

यस दिन पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रूपमा चीर ठड्याइएको बताउनुभयो । चीर ठड्याइसकेपछि विधिवत् रूपमा होली पर्व शुरु भएको मानिने बताउनुभयो ।
होली पर्व असत्यमाथि सत्यको जित भएका रूपमा पनि मान्ने गरिएको उहाँको भनाइ छ । “असत्यमाथि सत्यको जितको रूपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत् रूपमा होली सुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आएको परम्परा हो ।” उहाँले भन्नुभयो ।यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र चैत १ गते परेको छ । २९ गते हिमाली र पहाडी जिल्लामा र चैत १ गते तराईमा होलीको सार्वजनिक बिदा दिइएको छ । यहाँ उपस्थित हुने सबैले एकअर्कालाई अबिर दलेर होली पर्वको सुरुवात गरेका थिए । यस वर्षको होली पर्व भने फागुन २९ गते पहाडी जिल्लामा र चैत १ गते तराईका जिल्लामा सार्वजनिक बिदा दिइएर होली मनाइने भएको छ ।