काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले देशले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तीकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ। बुधबार ‘काठमाडौं बिजनेस एक्स्पो–२०८२’ को उद्घाटनमा उहाँले नागरिकको सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने बताउनुभयो।
उहाँले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरू आयोजना गरिरहनु जरुरी रहेको बताउनुभयो। उहाँले सबै प्रकारका तालिम उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘जबसम्म हामी आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्दैनौँ तबसम्म हामीले लगाउने सशक्तीकरणका नाराहरू पूरा हुन सक्दैनन् । त्यसका लागि सबैलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र आफूसँग भएको सिपलाई आयसँगको जोड्नका लागि यो मेला अत्यन्तै महत्त्वपूर्ण छ ।’
सिपमा आधारित उत्पादनमार्फत नागरिकको आय वृद्धि र मुलुकको समग्र अर्थतन्त्र सुदृढीकरण गर्नु महानगरको उद्देश्य रहेको उहाँको भनाइ छ ।