हरेक व्यक्तिको शरीर फरक-फरक प्रकृतिको हुन्छ । कसैका लागि गर्मी सहिनसक्नु हुन्छ भने कसैलाई जाडो ।
अहिले जाडोयाम चलिरहेको छ । यो मौसममा केहीलाई तुलनात्मक रुपमा जति बाक्लो लुगा लगाए पनि आवश्यकताभन्दा बढी चिसो महसुस हुनसक्छ ।
तुलनात्मक रुपमा आवश्यकता भन्दा बढी चिसो अनुभव हुन्छ भने त्यसलाई चिकित्सकीय भाषामा कोल्ड इन्टोलोरेन्स (असहिष्णुता) भन्ने गरिन्छ ।
यो यस्तो अवस्था हो जब शरीर चिसो तापक्रममा बढी संवेदनशील हुन्छ । दीर्घकालीन स्वास्थ्य समस्या भएका वा शरीरमा बोसो कम भएका व्यक्तिलाई विशेषगरी चिसो लाग्ने जोखिम हुन्छ
पातलो व्यक्तिमा भित्री बोसो कम हुने भएका शरीरमा इन्सुलिन पनि कम हुन्छ, जसकारण त्यस्ता व्यक्तिलाई जाडो बढी हुन्छ ।
मोटो व्यक्तिमा भने बोसोको मात्रा बढी हुने कारणले जाडो कम हुन्छ । बोसो कम हुनु गम्भीर समस्या भने होइन ।
स्वास्थ्य समस्याले पनि जाडो बढी हुन्छ
एनिमिया (रक्तअल्पता)
एनिमिया अर्थात् शरीरमा स्वस्थ रातो रक्तकोषिकाको कमी भएमा पनि जाडो बढ्न सक्छ । महिनावारीको समयमा अत्यधिक रक्तस्राव, पोषणको कमी र आवश्यक मात्रामा रातो रक्तकोषिका बनाउन नसक्दा रगतको कमी हुन्छ । अत्यधिक जाडो महसुस हुनु रक्तअल्पताको एनिमियाको सुरुवाती लक्षणमध्ये एक हो ।
अस्वस्थकर खाना, आन्द्रारोग, गर्भावस्थाका कारण रक्तअल्पता हुनसक्छ । यस्तो अवस्थामा व्यक्तिले अनावश्यक थकान, कमजोरी, चिसो हात खुट्टा जस्ता लक्षणको सामना गर्नुपर्ने हुन्छ ।
हाइपोथायरायडिजम
हाइपोथाइराइडिजम चिसो असहिष्णुताको अर्को मुख्य कारण हो । थाइराइड ग्रन्थीले शरीरलाई राम्ररी काम गर्न पर्याप्त थाइराइड हर्मोन उत्पादन नगर्ने अवस्थालाई हाइपोथाइराइडिजम भनिन्छ । यस्तोमा तौल बढ्नुका साथै चिसो लाग्ने समस्या पनि रहन्छ ।
मधुमेह
मधुमेहको प्रभाव मिर्गौलामा देखिन्छ भने यसलाई मधुमेह नेफ्रोप्याथी भनिन्छ । यो समस्या भएमा स्नायुको क्षतिको समस्या कायम रहन्छ । चिसोको समस्या झेल्नुपर्ने हुन्छ । यसबाहेक जाडो अत्यधिक भएर हात, खुट्टा र अनुहारमा सुन्निने समस्या पनि देखिन्छ ।
भिटामिन–१२ को कमी
शाकाहारी मानिसमा भिटामिन बी-१२ को कमी पाइन्छ । यसले सामान्यतया ५० वर्ष नाघेका वा ग्यास्ट्रोइन्टेस्टाइनल शल्यक्रिया गरेका मानिसलाई असर गर्छ । चिसो लाग्नुका साथै कब्जियत, पखाला, थकान, सास फेर्न गाह्रो हुने र भोक नलाग्ने जस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ ।
रक्तनलीमा समस्या
रक्तनली गडबडीका कारण पनि हात र खुट्टा चिसो रहन्छ । वास्तवमा हात र खुट्टाको रक्तनली साँघुरो भएकाले रगतको आपूर्ति राम्रोसँग हुन सक्दैन । जसकारण रगत जम्ने खतरा पनि रहन्छ । यस्तो समस्या भइरहे रक्तनली साँघुरो हुन थाल्छ ।
निद्राको कमी
निद्राको कमीले सर्केडियन घडीमा बाधा पुर्याउँछ, जसले निद्रा र ब्युँझिने ढाँचामा बाधा पुर्याउँछ । यसरी बाँधा पुगेमा हर्मोनल असन्तुलन बढाउँछ । जसकारण शरीरको तापक्रममा परिवर्तन देखिन थाल्छ । जसकारण हात खुट्टा धेरै चिसो हुने र शरीरमा रक्तसञ्चार नियमित हुँदैन ।
के अत्यधिक चिसोबाट बच्न सकिन्छ ?
– शरीरलाई चिसोबाट जोगाउन स्वस्थकर खाना खाने र क्यालोरीको मात्रा घटाउनुपर्छ ।
– शरीरलाई उर्जा मिल्ने खालको आहारमा फलफूल, हरियो सागपात र ड्राइफ्रुट खानुपर्छ । रक्तअल्पताको कमीबाट बच्न पर्याप्त मात्रामा आइरनयुक्त खानेकुरामा जोड दिनुपर्छ ।
व्यायाम
केही समय व्यायाम गर्दा शरीरमा रक्तसञ्चार बढ्न थाल्छ । यसले शरीरलाई दिनभर स्वस्थ र सक्रिय राख्छ । साथै पहिलाको जति जाडो अनुभव नहुन सक्छ । शरीरको तापक्रम कायम राख्न दैनिक हिंड्नु फाइदाजनक हुन्छ ।
शरीर न्यानो राख्न प्रयास गर्ने
न्यानो कपडा, मोजा र टोपी पनि लगाउनुपर्छ । यसले शरीरमा न्यानोपन कायम राख्छ र चिसो कम हुन्छ । रुम हिटरको पनि मद्दत लिन सक्नुहुन्छ । जसले गर्दा शरीरको तापक्रम ठीक रहन्छ । तर धेरै हिटर बाल्न भने हुँदैन । यसले छाला सुक्खा पार्छ ।
नियमित चेकअप
शरीरमा केही असामान्य परिवर्तन देखिएमा चिकित्सकसँग परामर्श र सो अनुसारको स्वास्थ्य परीक्षण गर्ने बानी गर्नुपर्छ ।