काठमाडौं। मंगलबार राति नेपाल चीन सिमानामा अवस्थित ल्हेन्दे खोलामा आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पुर्याएको छ । बन्द सडक खुलाउन काम सुरु भइरहेको छ।
ल्हेन्दे खोलामा बुधबार बिहान आएको बाढीले गत २४ असारको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना ठूला सबै प्रकारका सवारीसाधन टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। चिनियाँ भू भागमा भारी वर्षा भइरहेका कारण पटक पटक आउने बाढीप्रति पूर्वसावधानी अपनाउँदै नदी किनारको तटीय क्षेत्रमा बसोबास नगर्न जिल्लावासीलाई आग्रहसमेत गरीएको छ।
गएरातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएको समेत प्रजिअ पौडेलले जानकारी दिए। ल्हेन्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै छ भन्ने जानकारी गएराति नै तटीय क्षेत्रमा जानकारी गराइएको थियो ।