काठमाडौं । ब्राजिलियन महान फुटबलर पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी ४.९ मिलियन अमेरिकी डलरमा ब्रिकी भएको छ । जर्सी न्युयोर्कमा भएको लिलामीमा राखिएको थियो । यो अर्जेन्टिनाको जर्सी डिएगो म्याराडोनाले १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाए पछिको दोस्रो सबैभन्दा मूल्यवान फुटबल जर्सी बनेको छ । म्याराडोनाको जर्सी सन् २०२२ मा ७.१ मिलियन अमेरिकी डलरमा बिक्री भएको थियो ।
यो जर्सीका लागि पाँचभन्दा बढी बोलीकर्ताहरूबाट कुल १० बोली प्राप्त भएको थियो । यो जर्सी २००४ मा १० लाख पाँच हजार ६०० अमेरिकी डलरमा बिक्री भएको थियो । पेलेले १७ वर्षको उमेरमा १९५८ को विश्वकप फाइनलमा स्वीडेनविरुद्ध दुई गोल गरेर ब्राजिललाई पहिलोपटक च्याम्पियन बनाएका थिए । विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको रेकर्ड अझै पनि पेलेकै नाममा छ ।
बिहीबार ‘द ब्युटिफुल गेम’ लिलामीमा १९८६ को विश्वकपमा म्याराडोनाले लगाएको कप्तान आर्मब्यान्ड समावेश पनि थियो । यो पाँच लाख १२ हजार अमेरिकी डलरमा बिक्री भयो । तीन विश्वकप जित्ने एक्ला खेलाडी पेलेको सन् २०२२ मा निधन भएको थियो ।