काठमाडौं ।वैदेशिक रोजगारीमा जानेको संख्या ५.६० प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । वैदेशिक रोजगार विभागले जारी गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीमा जानको लागि कुल ७ लाख ९२ हजार १९६ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा ४७ हजार ७४ ले कमी आएको छ ।अघिल्लो आर्थिक वर्ष २०८१/८२ वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएका थिए ।
आर्थिक वर्ष २०८२/८३ मा अर्थात् २०८२ साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५, पुसमा ६२ हजार ५५९, माघमा ७० हजार ५०३, फागुनमा ५२ हजार ९४४, चैतमा ६१ हजार ८१२, २०८३ वैशाखमा ७४ हजार ४२९, जेठमा ६१ हजार ७२ र असारमा ६९ हजार ३६२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।
विभागको तथ्यांकले गत आर्थिक वर्ष प्रत्येक दिन औसतमा २ हजार १७०.४ जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने गरेको देखिएको छ । यस्तै, अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अर्थात् २०८१ साउनमा साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३, २०८२ वैशाखमा ७८ हजार ५०, जेठमा ७४ हजार ४४६ जना र असारमा ७८ हजार ८७९ जनाले श्रम स्वीकृति लिएका थिए ।
आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक दिन औसतमा २ हजार २९९.३६ जनाले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका थिए । पछिल्लो ११ वर्षमा विभागले ५४ लाख १३ हजार ६७८ वटा श्रम स्वीकृति जारी गरेको छ । आर्थिक वर्ष २०७२/७३ देखि २०८२/८३ सम्मको अवधिमा उक्त संख्यामा श्रम स्वीकृति जारी गरेको हो ।
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ४ लाख ३ हजार १७४ जना, २०७३/७४ मा ३ लाख ८३ हजार ४९३ जना, २०७४/७५ मा ३ लाख ५४ हजार ८२ जना, २०७५/७६ मा २ लाख ३६ हजार २०८ जना, २०७६/७७ मा १ लाख ९० हजार ४५३ जना, २०७७/७८ मा ७२ हजार ८१ जना, २०७८/७९ मा ६ लाख ३० हजार ९७ जना, २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना, २०८०/८१ मा ७ लाख ४१ हजार २९७ जना, २०८१/८२ मा ८ लाख ३९ हजार २७० जा र २०८२/८३ मा ७ लाख ९२ हजार १९६ जनाले श्रम स्वीकृति लिएका थिए ।
विगत ३३ वर्षमा विभागले वैदेशिक रोजगारीमा जानेहरूको नाममा ९३ लाख ४३ हजार ६६२ वटा श्रम स्वीकृत जारी गरेको छ । आर्थिक वर्ष २०५०/५१ देखि २०८२/८३ सम्मको अवधिमा उक्त संख्यामा श्रम स्वीकृति विभागले प्रदान गरेको हो ।