काठमाडौं। तराईका जिल्लामा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। सबैभन्दा बढी प्रभावित प्रदेशहरू मधेस, कोशी र लुम्बिनी रहेका छन् ।

परिवार कल्याण महाशाखाका अनुसार संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २० महिला र १३ पुरुष छन् । गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए ।
मृतकमध्ये मोरङका १७ वर्षीय, खानीपोखरीका ४९ वर्षीय र नवलपरासीका ७४ वर्षीय पुरुष छन् । खोप शाखाका डा. अभियान गौतमका अनुसार यसपटक संक्रमण विशेषगरी खोप नलगाएका समुदायमा बढी देखिएको छ । मधेशमा १० , कोशीमा ९, लुम्बिनीमा ९, बागमतीमा ४, गण्डकीका १ जना संक्रमित भएका छन् । ‘तराई बेल्ट यसको लागि एकदम अनुकूल क्षेत्र हो , धान खेती हुने, वरिपरि सुँगुर वा हाँस पालन हुने ठाउँमा यसको जोखिम उच्च हुन्छ,’ डा.गौतमले भने ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एसियामा वार्षिक करिब एक लाख मानिस यस रोगबाट प्रभावित हुने गरेका छन् । विशेषगरी १५ वर्षमुनिका बालबालिकामा जेई बढी देखिने र मृत्युदर ३० प्रतिशतसम्म पुग्न सक्ने संगठनले जनाएको छ । जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो ।
यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ ।
संक्रमित चरा र सुँगुरबाट लामखुट्टेमार्फत मानिसमा सर्ने यो रोगका लक्षणहरूमा उच्च ज्वरो, मुर्छा, घाँटी अरर हुने, भ्रम, बोल्न नसक्ने र मांसपेशी कमजोर हुने वा पक्षाघात समेत हुन सक्छ । जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार छैन । यसको लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ ।
यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणाली कमजोर भएका मानिस बढी जोखिममा हुन्छन्। उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, मांसपेशी कडा हुनु, अचेत हुनु लक्षण हुन् । यसको विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ । तर यो भाइरस विरुद्धको खोप भने उपलब्ध छ । मनसुनको समयमा यो रोगको जोखिम बढी हुने हुन्छ ।
वर्षायाममा बढी आद्रता र बाढीका कारण सरसफाइमा कमी आउँदा लामखुट्टेको वृद्धि हुन्छ । जसले संक्रमणको जोखिम बढाउँछ । ‘साउन, भदौ, असोजमा महिना जेइ को संक्रमणदर उच्च हुन्छ । जाडो महिनामा बिस्तारै संक्रमणका केस घट्दै जान्छन् ।
चिकित्सकका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने,घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन । साथै पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्न चिकित्सक सुझाव दिन्छन् ।