काठमाडौं। ४ दिनदेखि काठमाडौं उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता सहित खुलेको छ। आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई माग पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले जानकारी दिए।
‘स्थानीयको माग सम्बोधन १५ दिन भित्र भएन भने फोहोर फाल्न रोक्नुस्, तर अहिले नरोक्नुस् भनेर मन्त्रीज्यूले नै भनेपछि हामीले फोहोर फाल्न दिएका हौँ । अहिले रोकिएको गाडीहरू बञ्चरेडाँडामा पुग्न थालिसके ,’ बजगाँइले भने ।
कुलमान घिसिङ सहित आज बिहानै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए ।