काठमाडौं। निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका ३ वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनुभएका पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गर्नुभयो। राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली स्वीकार गरेको भए आफूमा यो निर्वाचनमा लड्ने मनसाय नै नभएको उहाँको भनाइ छ। “शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई अघि बढाउने उद्देश्य थियो। तर तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नै भएन,” पुनले बुधबार सामाजिक सञ्जालमार्फत भन्नुभयो।
पुनले अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचारप्रसार गर्ने बताएका छन्।