विश्व बैंकले घटायो नेपालको आर्थिक वृद्धि प्रक्षेपण

Nagarik Sewa 4537+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

काठमाडौं ।  विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ।  यसअघि आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत र आर्थिक वर्ष २०८३/८४ मा ५.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको थियो। 

अब भने आर्थिक २०८२/८३ मा यस्तो वृद्धिदर २.१ प्रतिशत र आर्थिक वर्ष २०८३/८४ मा ४.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।  विश्व बैंकले नेपालसहित भारत र मालदिभ्सको पनि वृद्धि दर घटाएको उल्लेख गरेको छ। भारतको निर्यातमा देखिएको कमि, मालदिभ्समा विदेशी मुद्रा सञ्चितिमा देखिएको दबाब र नेपालमा हालै भएको प्रर्दशनको कारण यस्तो प्रक्षेपण घटाउनु परेको विश्व बैंकले उल्लेख गरेको छ। 

आन्दोलन हुनुमा नेपालीहरूको शासन प्रणाली प्रतिको असन्तुष्टि र आर्थिक अवसरको अभाव रहेको विश्व बैंकले उल्लेख गरेको छ। भष्ट्राचार, अनिश्चित व्यवसायिक वातावरण, उच्च व्यापार लागत र पूर्वाधार अभाव जस्ता संरचनात्मक कमजोरीको कारण नेपालको विकास समकक्षी मुलुकहरूको तुलनामा ढिलो भइरहेको विश्व बैंकले उल्लेख गरेको छ।

विश्व बैंकले विगत १० वर्षमा नेपालको वृद्धिदर औसत ४.३ प्रतिशत मात्रै रहेको, आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा युवा बेरोजगारी दर २२.७ प्रतिशतसम्म पुगेको उल्लेख गरेको छ। यति हुँदा हुँदै पनि जलविद्युत उत्पादनमा भएको वृद्धिले आर्थिक वर्ष २०८१/८२ मा भने नेपालको वृद्धि दर ४.६ प्रतिशत पुगेको विश्व बैंकले उल्लेख गरेको छ। विश्व बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.७ प्रतिशत थियो।

दक्षिण एसियाको भने यस वर्ष आर्थिक वृद्धि औसत ५.८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। यसअघिको वर्ष यस्तो वृद्धिदर ६.६ प्रतिशत थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार