काठमाडौं । बाँकेको जानकी गाउँपालिका–६, कपासीमा आगलागी हुँदा सात घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । अर्को एउटा घरको झ्यालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
बुधबार (कात्तिक ४) दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी भएको सूचना प्रहरीले पाएको थियो । कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेपछि अपराह्न ४ बजे मात्र आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । कपासीका साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एक/एकतले कच्ची घर पूर्ण रूपमा जलेर क्षति भएको छ । सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एक/एकतले कच्ची घर पनि पूर्ण रूपमा जलेर क्षति भएको छ । महेश खानको पक्की घरको एउटा झ्यालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
क्षतिको अरू विवरण खुल्न बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।