काठमाडौं। नेकपा (एमाले) केन्द्रीय कमिटीको नवौं बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा दिउँसो करिब १२ बजेबाट सुरु भएको छ । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ। यसअघि यही साउन २ र ३ गते एमालेको पोलिटब्युरो बैठकबाट विधान संशोधनको प्रस्ताव पारित भएको थियो ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावित विधान संशोधनबारे इच्छुक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय दिइने बताए ।
विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारीमा ७० वर्षे उमेर हद र एकै पदमा दुुई कार्यकाल बस्न नपाइने व्यवस्था हटाउने प्रस्ताव रहेको जनाइएको छ । एमालेको विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने तय भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेको विषयमा पनि केन्द्रीय कमिटीमा विषय उठ्ने जनाइएको छ ।