काठमाडौं। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सुरक्षा गोष्ठी सुरु गरिएको छ । मंगलबार गृहमन्त्री ओमप्रकाश अर्यालले भैरहवामा लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुभयो।
गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर जेनजीले गरेको प्रदर्शनपछिको त्रासदपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्था सामान्य बनाउन सरकार सफल भएको बताउनुभएको छ। मन्त्री अर्यालले निर्वाचन सम्पन्न गर्ने अभिभारा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने सुनिएको छ, त्यस्ता कुराको जवाफ सरकारले कामबाट दिन्छ ।’
अहिलेको सरकार कसैको निगाहामा नबनेको उहाँले बताउनुभयो। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै मन्त्री अर्यालले अभिव्यक्ति दिँदा जिम्मेवारीबोध गर्न आग्रह गर्नुभएको छ। जेनजी प्रदर्शनमा लुटिएका सुरक्षाकर्मीको हतियार विशेष अपरेसन मार्फत धेरै फिर्ता ल्याएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘भागेका कैदीबन्दी पनि ठुलो संख्यामा फिर्ता भैसकेका छन् ।’
गोष्ठी उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, लुम्बिनी प्रदेश प्रमुख सचिव कृष्ण प्रसाद काप्री र सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी उपस्थित हुनुहुन्थ्यो।