जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाउछौंः अध्यक्ष प्रचण्ड

Nagarik Sewa 4431+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

जाजरकोट। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताउनुभएको छ।

अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले मंगलबार जाजरकोटको भेरी नगरपालिकामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरेको हो।

कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले जाजरकोटमा भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्ग जस्ता विकास आयोजना अघि बढेको बताउनुभयो। गाउँ–गाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रदेश सरकार कमजोर भएको र जनतामा यसको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै वक्ताहरूले सङ्घीयताको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। प्रश्नहरू सुनेपछि जवाफ दिँदै अध्यक्ष प्रचण्डले जनताको सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभयो। “तपाईँहरूले उठाएका प्रश्नहरू ग्रहणयोग्य छन्, सुझावहरू महत्त्वपूर्ण छन्,” उहाँले भन्नुभयो, “हामी उपदेश दिने शैलीमा होइन, जनताको सुझाव सुन्ने तरिकाबाट अभियानमा होमिएका छौँ।”

उहाँले आफू प्रधानमन्त्री रहेका बेला भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारका काम सुरु गरिएको बताउनुभयो। “मैले त्यतिबेला तत्कालै बजेट पनि छुट्टाएको थिएँ,” उहाँले भन्नुभयो, “तर त्योअनुसार काम हुन नसक्नु दुःखद कुरा हो। अहिले पुनःस्थापनाको काममा गति दिनुपर्छ भन्ने मागलाई म सरकारले ध्यानमा राख्न आग्रह गर्छु।”

अध्यक्ष प्रचण्डले सङ्घीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्दै सङ्घीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गर्नुभयो। “संविधान कार्यान्वयनका लागि म प्रधानमन्त्री हुँदा प्रदेश समन्वय बैठक बसेको थियो,” उहाँले भन्नुभयो, “कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक र उच्च शिक्षा सुधारका लागि तयारी गरिएको थियो, ती काम अघि बढ्नुपर्छ।”


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार