काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार सूचना जारी गर्दै र्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। नेपाल सरकारले देउवाका छोरामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
विभागले उनलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७१ बमोजिम सात दिनभित्र विभागको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा उपस्थित हुन भनेको छ। अनुसन्धानको सिलसिलामा बयान लिन आवश्यक भएकाले बोलाइएको सूचनामा उल्लेख छ। विभागका अनुसार सम्बन्धित व्यक्तिको ठेगानामा सम्पर्क हुन नसकेपछि प्रचलित कानुनअनुसार सार्वजनिक सूचना प्रकाशन गरी हाजिर हुन आह्वान गरिएको हो। तोकिएको अवधिमा उपस्थित नभए प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी पनि सूचनामा छ।
जयवीर देउवा लामो समयदेखि नेपालबाहिर छन्। कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवा पनि सिंगापुरहुँदै गत फागुनदेखि हङकङमा छन्। विवादास्पद व्यवसायी दीपक भट्टसँग देखिएको व्यावसायिक सम्बन्धलाई लिएर जयवीर सरकारी अनुसन्धानमा तानिएका हुन्।
सरकारी स्रोतका अनुसार विभिन्न व्यावसायिक कारोबार र लगानीसम्बन्धी विषयमा जयवीर र भट्टबीच सहकार्य रहेको विवरण अनुसन्धानको दायरामा परेको छ। सोही क्रममा वित्तीय कारोबार, लगानीको स्रोत तथा सम्पत्तिको वैधतासम्बन्धी पक्षमा विभागले अध्ययन गरिरहेको छ।