नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले बुझायो उपप्रमुख सुनिता डंगोललाई ध्यानाकर्षण -पत्र

Nagarik Sewa 4431+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं  । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रियामा मिडियामैत्री नीति समेट्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। शाखाले बजेटमा प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा, सञ्चारगृहहरूको प्रवर्द्धन, र सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने सुझाव समेटिएको पत्र उपप्रमुख डंगोललाई हस्तान्तरण गरेको हो।

'स्थानीय सरकारको नीति तथा बजेटमा सञ्चार क्षेत्रको समावेशीकरण अत्यावश्यक छ। पत्रकारहरूको सुरक्षादेखि स्थानीय मिडियाको सशक्तिकरणसम्मका विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छौं; शाखाका अध्यक्ष शाेभा अर्यालले भनिन् । ध्यानाकर्षण पत्र ग्रहण गर्दै उपप्रमुख डंगोलले भनिन्, 'पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो। महासंघको मागलाई गम्भीरताका साथ बजेट निर्माण प्रक्रियामा समावेश गर्ने प्रयास हुनेछ।'

पत्रकार महासंघले सञ्चार क्षेत्रप्रति स्थानीय तहको ध्यान केन्द्रित गराउन र दीगो विकासमा पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउन यस किसिमको पहल थालेको जनाएको छ। यसअघि शाखाले उपत्यकाभित्रका सबै नगरपालिका र स्थानीय निकायहरूमा यस्तै प्रकृतिका ध्यानाकर्षण पत्र बुझाइसकेको जानकारी गराइएको छ।  आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा सञ्चार क्षेत्रका सरोकार समेट्न आग्रह गर्दा ती स्थानीय सरकारहरू सकारात्मक देखिएको महासंघले जनाएको छ। महासंघले आगामी दिनहरूमा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि अझ विविध, रचनात्मक र दीर्घकालीन कार्यक्रमहरू अघि बढाउने योजना बनाएको छ। शाखाले शुभचिन्तक, विज्ञ तथा सरोकारवालाहरूबाट सल्लाह, मार्गदर्शन र हौसलाको अपेक्षा समेत राखेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार