काठमाडौं । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगद्वारा प्रकाशित स्थानीय तह कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको दुधौली नगरपालिका पहिलो भएको छ । दुधौली नगरपालिका जिल्लाका ९ वटा स्थानीय तहमध्ये ७३ दशमलव १ अंक प्राप्त गरेर पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकलाई आधार बनाएर स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचकको मुल्यांकन गरी अंक प्रदान गरिएको हो । यदि उक्त अंकमा चित्त नबुझेमा सोही कार्यविधिको दफा ९ अनुसार यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसुची ५ को ढाँचामा आयोगमा पठाउन सकिने व्यवस्था रहेको छ ।
मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय/व्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलगायतका विषयमा मूल्यांकन गरेको थियो ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति संख्यालगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।