बालेन्द्र शाहद्वारा प्रधानमन्त्री पदको शपथ ग्रहण

Nagarik Sewa 4497+ समाचार ( )
१३ चैत्र २०८२, शुक्रबार

काठमाडौं। रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनुभएको हो।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो। नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो। मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।

को को बने मन्त्री?

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालनुभएको छ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाउनुभएको छ।

विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाउनुभएको छ।

खड्कराज पौडेल ९गनेश० ले पर्यटनमन्त्रीको जिम्मेवारी पाउनुभएको छ।

सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको छ।

विक्रम तिमिल्सिना सञ्चारमन्त्री बन्नुभएको छ।

प्रतिभा रावलले सामान्य प्रशासन मन्त्रीको, दीपक साह (महोत्तरी) ले श्रम रोजगार मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ।

गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बन्नुभएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार