काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिवद्धतामा ठूलो गिरावट आएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८२ को वार्षिक विवरणमा नेपालले पाउँदै आएको वैदेशिक सहायता प्रतिवद्धतामा ४०.९ प्रतिशतले कमी आएको उल्लेख छ । “वैदेशिक सहायता प्रतिबद्धता घटेको छ । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक सहायता प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको लगानी प्रतिवद्धता दुई खर्ब ७३ अर्ब पाँच करोड रुपैयाँको तुलनामा ४०.९ प्रतिशतले कमी आई एक खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँ,” अर्थ मन्त्रालयले भनेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ मा नेपालले एक खर्ब ११ अर्ब ५९ करोड रुपैयाँ कम वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको अर्थको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले प्राप्त गरेको कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये बहुपक्षीय साझेदारको हिस्सा ६३.६ प्रतिशत र द्विपक्षीय साझेदारको हिस्सा ३६.४ प्रतिशत रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारले अनुदानतर्फ ३२ अर्ब ८४ करोड रुपैयाँ र ऋणतर्फ एक खर्ब १६ अर्ब ४४ करोड रुपैयाँ गरी जम्मा एक खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ । यो भनेको नेपालको कुल गार्हस्थ्य उत्पादनको २.३ प्रतिशत हो । “अघिल्लो आर्थिक वर्षको संशोधित अंकको तुलनामा अनुदान १०.७ प्रतिशतले बढे पनि ऋण ८.३ प्रतिशतले घट्दा कुल वैदेशिक सहायता प्राप्ति ४.७ प्रतिशतले कम भएको हो,” अर्थ मन्त्रालयले भनेको छ ।
प्राप्त कुल वैदेशिक सहायतामा अनुदान र ऋणको हिस्सा क्रमशः २२ प्रतिशत र ७८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा उक्त हिस्सा क्रमशः १८.९ प्रतिशत र ८१.१ प्रतिशत थियो । नेपालले आर्थिक वर्ष २०७८/७९ मा एक खर्ब ६० अर्ब ९ करोड रुपैयाँ, २०७९/८० मा एक खर्ब ४६ अर्ब ६ करोड रुपैयाँ, २०८०/८१ मा एक खर्ब ३७ अर्ब २८ करोड रुपैयाँ, २०८१/८२ मा एक खर्ब ५६ अर्ब ६० करोड रुपैयाँ र २०८२/८३ मा एक खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ वैदेशिक विकास सहायता प्राप्त गरेको छ ।