हेटौँडा । ‘किन आउँछ दसैँ–तिहार, किन बिदा बार, फौजीलाई कुन हो दसैँ, कुन हो चाड तिहार !’ हरेक वर्षका दसैँ–तिहारमा सुरक्षामा खटिने सुरक्षाकर्मीको भावना बोल्छ यो गीतले । घटस्थापना सुरु भएसँगै ब्यारेकदेखि रेडियो, टेलिभिजन र सुरक्षाकर्मीका ओठसम्म गुञ्जिने यो गीत परिवारबाट टाढा रहेर चाडपर्वमा सुरक्षामा खटिने फौजीहरूको मनको आवाज बन्ने गरेको छ ।
दसैँ आउँछ, घरघरमा जमरा राखिन्छन्, पिङ हालिन्छन् । बाटो हेरेर बसेका आमाबुबा छोराछोरीको आगमन पर्खन्छन् । श्रीमती श्रीमान्को प्रतीक्षामा हुन्छिन् । छोराछोरी बाबाको हातबाट टीका र जमरा लगाउने दिन गन्छन् । तर, सबैका लागि दसैँ एउटै हुँदैन । कसैका लागि परिवारसँगको भेटघाट र खुसीको पर्व बन्छ, कसैका लागि भने जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ ।
"झन्डै तीन दशक प्रहरी सेवामा बिताइसकेँ । के वृद्ध हुँदै गएका बा–आमाले अर्को वर्ष पनि आजकै जस्तो छोरा आउने बाटो हेर्लान् ? के श्रीमतीले अघिल्लो वर्षझैँ यसपालि पनि मन बुझाउलिन् ? अनि के छोराले आमाको दाहिने बसेर टीका र जमरा लगाइदिने बाबाको कमी महसुस नगर्ला ?"
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको मनमा यस्ता प्रश्न बेलाबेला आइरहन्छन् । काठमाडौं घर भएका खत्री यसपटकको दसैँमा पनि हेटौँडामै रहेर मकवानपुरको सुरक्षामा खटिँदै छन् । दसैँका दिन तल्लो तहका प्रहरी कर्मचारी उनीकहाँ टीका थाप्न आउँछन् । कार्यालयका प्रहरी कर्मचारीका लागि उनी अभिभावक हुन् । अरुको निधारमा टीका लगाइदिएर खुसी बाँड्ने जिम्मेवारीमा रहेका उनलाई आफ्नै मनको पीडा देखाएर बस्ने छुट छैन ।
प्रहरी सेवामा २८ वर्ष बिताइसकेका खत्रीलाई जागिरका सुरुआती दिनमा मनाएका दसैँ–तिहारको सम्झनाले अझै भावुक बनाउँछ । त्यतिबेला परिवारसँग सम्पर्क गर्न अहिलेजस्तो सहज प्रविधि थिएन । न स्मार्टफोन थियो, न भिडियो कल । घरको खबर थाहा पाउन चिठीको भर पर्नुपर्थ्यो । परिवारको आवाज सुन्न र अनुहार हेर्नसमेत लामो समय कुर्नुपर्थ्यो ।
“अस्ति फूलपाती भित्रियो, भोलि मौलो पूजा गरेर बली दिइन्छ । पर्सी म कहाँ टीका थाप्न आउनुहुन्छ । अब पहिले झै नराम्रो लाग्दैन । बानी परिसक्यो । अब यहीँ संसार नै अर्को परिवार बनिसक्यो,” उनले भने । तर, घरपरिवारको स्थान अरू कसले पो लिन सक्छ र ! खत्री भन्छन्, “घरको सम्झना आयो भन्ने छुट कहाँ छ र । न आफन्तजन, न त परिवार । न, मावल न त, ससुराली ।”
इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सनम मल्ल पनि यसपटकको दसैँमा परिवारभनदा टाढा छन् । प्रहरी सेवामा प्रवेश गरेको पाँच वर्ष भइसके पनि दसैँमा परिवारसँग हुन नपाएकाे यसपटक पहिलो हो उनका लागि । “वर्षदिनमा आउने चाडमा घर जाने रहर कसलाई हुँदैन र ? तर, हामी फौजीका लागि यो अवसर विरलै जुर्छ । आमनागरिक चाडपर्वको वातावरणमा झुमिरहेका बेला फौजीलाई खल्लो नलागोस् भनेर ब्यारेकमै रमाइलो गर्ने प्रबन्ध मिलाइएको हुन्छ," उनले भने, "यसपालि दसैँमा घर जान नपाउने पहिल्यै टुंगो भइसकेको थियो ।"
म्याग्दीका मल्लको घरमा ८२ वर्षीया हजुरआमा छिन् । अघिल्ला वर्षहरूका दसैँमा बिदा पाउने उनले यसपटक ड्यूटीमा बसेर अरूलाई पालो दिनेमा परेका छन् । “बुबा-आमालाई पहिले नै सम्झाइसकेको थिएँ । अरुलाई सम्झाए पनि आफ्नो मन बुझाउन भने निकै गाह्रो हुने रहेछ," उनले भने ।
नवमीको दिन प्रहरीले मौलो पूजा गर्छ, जहाँ बली दिने चलन छ । दसैँमा घर जान नपाएका प्रहरीले दशमीको दिन कार्यालय प्रमुखबाट टीका थाप्छन् । आम नागरिक दसैँ मनाउन केन्द्रित हुँदा अपराध गर्नेका लागि मौका हुने भएकाले यो बेला विशेष चनाखो हुनुपर्ने प्रहरीहरू बताउँछन् ।
५० हजारबढी प्रहरी परिचालन
दसैँको सुरक्षाका लागि देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरिएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ७ हजार ६६८, कोसी प्रदेशमा ८ हजार १३३, मधेस प्रदेशमा ७ हजार २३९, वाग्मती प्रदेशमा ४ हजार ४९९, गण्डकी प्रदेशमा ५ हजार १८८, लुम्बिनी प्रदेशमा ७ हजार ९२१, कर्णाली प्रदेशमा ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५०५ प्रहरी परिचालन भएका छन् ।
चाडपर्वमा मकवानपुर प्रहरीले पनि विशेष सुरक्षा योजना लागु गरेको छ । जिल्लाभर ७२९ प्रहरी परिचालन गरिएको छ । एसपी खत्रीका अनुसार, चाडपर्वका समयमा हुन सक्ने लुटपाट, जुवातास तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ । बैंक तथा वित्तीय संस्थामा हुन सक्ने चोरी र डकैतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।