दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सब-इन्जिनियर पौड्यालविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा

Nagarik Sewa 2094+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

काठमाडौं ।काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना भक्तपुरमा कार्यरत सबइन्जिनियर कुमार पौड्यालविरुद्ध साढे तीन करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पौड्यालले पदीय मर्यादा विपरीत कार्यहरूमार्फत् तीन करोड ६३ लाख २१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पौड्यालले २०५१ वैशाख ९ गतेदेखि २०८० असार ३१ गतेसम्मको अवधिमा सो बराबर रकम भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । यस अवधिमा पौड्यालको वैध आय दुई करोड ५८ लाख ९७ हजार रुपैयाँ मात्र रहेकोमा उक्त अवधिमा घर निर्माण खर्च, जग्गा खरिद, अध्ययन खर्च, पिस ब्याङकुट एन्ड रेस्टुरेन्ट प्रालिमा लगानी, सवारी साधन खरिद, सेयर खरिद, ऋण सापटी भुक्तानी, सुन खरिद, बिमा प्रिमियम भुक्तानी र बैङ्क मौज्दात रकम गरी जम्मा कुल ६ करोड २२ लाख १८ हजार रुपैयाँ उनको जम्मा सम्पत्ति भेटिएको हो ।

तीन करोड ६३ लाख रुपैयाँ ऋणात्मक रही गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले पौड्याललाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम सजायको माग दाबी अख्तियारले गरेको छ ।

पौड्यालले गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती विष्णुमैयाँ पौड्यालको नाममा पनि राखेको भेटिएकाले विष्णुमैयाँलाई पनि सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै