काठमाडौं । नेपाल–चीन सीमानजिकै हिम पहिरोका कारण बनेको कृत्रिम तालको पानि पूर्ण रूपमा निकास भएको छ । पानी निकास भएर सामान्य अवस्थामा फर्किएको चीनको जलस्रोत मन्त्रालय र चिनियाँ केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ ।
नेपालको ‘छोछेन खोला’ र चीनतर्फको ‘पुरेपु साङ्पो’ नदीको संगमस्थल नजिकै थुप्रिएर बनेको उक्त कृत्रिम तालमा करिब २० लाख घनमिटर पानी सञ्चित भएको थियो । जलस्रोत मन्त्रालयको जलवैज्ञानिक आपत्कालीन अनुगमन टोलीका अनुसार, प्राकृतिक रूपमा स्वतः पानी बगेर तालमा थुप्रिएको जलभण्डार अहिले पूर्ण रूपमा रीत्तिएको छ ।
यसैबीच तिब्बतको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शनिबार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार केरुङ नाका क्षेत्रमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५४६ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता ५४६ जनामध्ये २६१ जना २३ देशका विदेशी नागरिक रहेका बताइएको छ ।