काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी बिहीबार बिहान ११ः३० बजे फोनवार्ताको तयारी भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मंगलबार नै वार्ता हुने तयारी भएको भएपनि अन्तिम समयमा उहाँहरूको वार्ता सरेको हो।
‘भोलि हाम्रोमा शोकबिदा दिइएको छ। सायद पर्सि बिहान साढे ११ बजे उनीहरूबीच फोनवार्ता हुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। गत भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनको बलमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको थियो।
कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाइ दिइसकेका छन् । उनले गत शनिबार मणीपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महिला सशक्तीकरणको उदाहरण भएको समेत बताएका थिए ।