सुर्खेत । हिमपातका कारण सम्पर्कविहीन भएका जुम्लाका १३ जना भेडा गोठाला सम्पर्कमा आएका छन्। चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका उनीहरूले जिल्ला प्रशासन कार्यालयमा फोन गरेर आफूहरू सुरक्षित रहेको जानकारी गराएका हुन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार सम्पर्कविहीन भनिएका १३ जनाले नै आफूहरू सुरक्षित रहेको जानकारी दिएका छन्।
“उहाँहरूले जिल्ला प्रशासन कार्यालयमा फोन गरेर हामी सुरक्षित छौँ भन्नुभएको रहेछ। हामीले अहिले मात्र खबर पायौँ,” खनालले भने, “चन्दननाथका आठ जना सम्पर्कविहीन भन्ने थियो, अरू केही तातोपानीका पनि सम्पर्कविहीन भएका रहेछन्।”
हिमपातका कारण बाहिर निस्कन सक्ने अवस्था नरहेको भन्दै उनीहरूले तत्काल उद्धार गर्न आग्रह गरेका छन्। “उहाँहरूले फोन गरेर बाहिर हिउँ परिरहेको छ, हामी भित्र बसेका छौँ, जति सकिन्छ हामीलाई छिटो उद्धार गर्नुपर्यो भन्नुभएको छ,” खनालले भने।
उनीहरूको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला र कर्णाली विपद् व्यवस्थापन गुल्म जुम्लाबाट सात जना प्रहरी, एक जना नगर प्रहरी र दुई जना स्थानीयसहितको खोज तथा उद्धार टोली परिचालन गरिएको छ।
प्रहरीका अनुसार अहिले पानी परिरहेका कारण उद्धारमा कठिनाइ हुन सक्ने देखिएको छ। स्थलमार्गबाट उद्धार गर्न सकिने अवस्था भए टोलीले उद्धार गर्ने र त्यसबाट सम्भव नभए हेलिकप्टरको व्यवस्था गरेर भए पनि उनीहरूको उद्धार गर्ने तयारी भइरहेको सूचना अधिकारी खनालले बताए।