काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यौनजन्य दुर्व्यवहार निवारणसम्बन्धी आचारसंहिता, २०८२ जारी गरेको छ । मन्त्रालयले आफू मातहतका सबै कार्यालय तथा कार्यस्थलहरूलाई सुरक्षित, मर्यादित र हिंसारहित बनाउने उद्देश्यका साथ आचारसंहिता जारी गरेको हो ।
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन, २०७१ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी यो आचारसंहिता कार्यान्वयनमा ल्याइएको हो । मन्त्रालयले यौनजन्य दुर्व्यवहारमा शून्य सहनशीलता नीति अघि सारेको छ । आचारसंहितामा लिंग, उमेर, जात वा धर्मका आधारमा विभेद नगरी सबैलाई सम्मानजनक व्यवहार गर्न उल्लेख गरिएको छ ।
साथै, पीडित र घटनासँग सम्बन्धित अनुसन्धान प्रक्रियालाई पूर्ण रूपमा गोप्य राख्ने आचारसंहितामा उल्लेख छ । कर्मचारी र सेवाग्राहीले भयमुक्त भएर काम गर्न पाउने सुनिश्चितता गर्ने, उजुरी प्रक्रिया र कारबाहीलाई पारदर्शी बनाइने बताइएको छ । मन्त्रालयले जारी गरेको आचारसंहिताले कार्यस्थलमा कस्ता कार्यलाई यौनजन्य दुर्व्यवहार मान्ने भन्ने स्पष्ट पारेको छ ।
जसमा इच्छा विपरित शरीरका कुनै अंग छुने, समात्ने वा अंगालो हाल्ने प्रयास गर्ने, यौनजन्य आशयले अश्लील शब्द प्रयोग गर्ने, जिस्क्याउने, र यौन जीवनका बारेमा प्रश्न सोध्नेलाई उल्लेख गरेको छ । अश्लील इशारा गर्ने, यौनजन्य आशयका तस्बिर वा भिडियो देखाउने तथा ईमेल, सामाजिक सञ्जाल वा फोनमार्फत अश्लील सन्देश वा सामग्री पठाउनेलाई यौनजन्य दुर्व्यवहार मानिएको छ । मन्त्रालयले दुर्व्यवहार भोग्ने व्यक्तिले कार्यालय प्रमुख वा मन्त्रालय समक्ष उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । उजुरी परेको ७ दिनभित्र छानबिन गरी टुंगो लगाउनुपर्ने बताएको छ ।
छानबिनका आधारमा दोषी पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने तथा उजुरी गरेकै कारण उजुरीकर्तालाई कुनै पनि प्रकारको प्रतिशोध लिन नपाइने सुनिश्चितता मन्त्रालयले लिएको छ । कार्यालय प्रमुखलाई आचारसंहिता कार्यान्वयनको नेतृत्वदायी भूमिका दिइएको छ । कार्यालयमा सीसीटिभी क्यामेरा जडान गर्ने, सचेतनामूलक बोर्डहरू राख्ने र सबै कर्मचारीहरूबाट आचारसंहिता पालनाको प्रतिबद्धता फाराम अनुसूची–१ भराई अभिलेख राख्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
साथै, सेवाग्राही र सेवाप्रदायक दुवैले एक–अर्काप्रति मर्यादित व्यवहार गर्नुपर्ने उल्लेख छ ।


