काठमाडौं। सरकारले बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी तथा कालिगडहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने निर्णय भएपछि समितिले प्रदर्शन गरेको हो ।
सङ्घर्ष समितिले न्यूरोडमा विलासी कर र हिराको गहनाको भ्याट फिर्ता गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको हो । स्वरोजगार कला र सीपसँग जोडिएको पेसालाई प्रोत्साहन गर्नुको सट्टा कानुनले नगदको रूपमा मानेको सुनलाई विलासिताको वस्तुको रूपमा कर लगाउँदा सुनको मूल्य अझ बढ्न गई उपभोक्ता देखि व्यवसायी मारमा पर्ने व्यवसायीहरूको भनाई छ ।


