तरंगिनी फाउन्डेसनद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nagarik Sewa 4431+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

ललितपुर । महिला अधिकार, लैंगिक समानता र सामाजिक न्यायका सवालमा सञ्चारकर्मीहरूको भूमिकाबारे गहन संवाद गर्ने उद्देश्यसहित तरंगिनी फाउन्डेसनको आयोजनामा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब २० जना पत्रकारहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा तरंगिनी फाउन्डेसनकी संयोजक बबिता बरालले संस्थाले लैंगिक समानता, महिला सशक्तिकरण र सामाजिक न्यायका क्षेत्रमा गर्दै आएका गतिविधिहरूबारे विस्तृत जानकारी दिइन्। साथै, महिलाको पहिचान, श्रमको सम्मान र महिलामाथि हुने विभेद तथा हिंसाको अन्त्यका लागि सञ्चारमाध्यमहरूबाट निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिँदै भनिन्, 'महिलाका सवालमा स्पष्ट धारणा बनाउँदै आवाज बुलन्द गर्न सञ्चारकर्मीहरूको भूमिका अझ प्रभावकारी हुन जरुरी छ।'

अन्तरक्रियामा सहभागी पत्रकारहरूले महिलासम्बन्धी विषयहरू उठाउँदा भोग्नुपरेका विविध चुनौतीहरूका अनुभव साटासाट गरेका थिए। उनीहरूका अनुसार सञ्चारमाध्यमहरू भित्रै लैंगिक संवेदनशीलताको कमीले गर्दा महिला मुद्दाहरूलाई प्राथमिकता दिन गाह्रो भएको अनुभव गरिएको छ। 'एक महिला पत्रकारले स्पष्ट पारिन्, कहिलेकाहीँ लाग्छ, हामी महिला मात्र होइन, महिला पत्रकार पनि दोहोरो लडाइँ लडिरहेका छौं।'

सञ्चारमाध्यम तथा नेतृत्व तहमा रहेका व्यक्तिहरू महिलाका सवालप्रति संवेदनशील नभएसम्म यस्ता विषयहरू मुख्यधारको समाचार सामग्री बन्न नसक्ने उनीहरूले बताए। कार्यक्रममा महिला मुद्दामा सञ्चारको प्रभावकारिता, संस्थागत संरचनामा रहेको लैंगिक असमानता र सशक्त पत्रकारिताका सम्भावनाहरूका विषयमा गहिरो छलफल भएकाे थियाे । कार्यक्रमले सञ्चारकर्मीहरूलाई महिला अधिकारका सवालमा अझ सशक्त, सचेत र संवेदनशील भएर कलम चलाउन हौसला दिएको छ। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार