काठमाडौं । समाजसेवी अजित खड्का असाधारण मन भएका पात्र हुन्। भीडमा मिसिने अनुहार लिए पनि उनको हाउभाउ, बोलाइ र जीवनशैली सबै फरक छ। जुंगा राखेका, झोला भिरेर हिंड्ने, कहिलेकाहीँ फुस्रो टोपीमा लुकाउने ती आँखाहरूमा सेवा गर्ने उज्यालो देखिन्छ। विदेशमा धेरै वर्ष काम गरेपछि फर्किएका उनले पैसा कमाउनु जीवनको अन्तिम लक्ष्य होइन भन्ने बुझे। नेपालमै अपार सम्भावना छन् भन्ने आत्मविश्वासले उनलाई बाँधिराखेको छ। परिवारको एउटोपन, मौलिकता, र माटोको सुगन्ध उनको विचारमा संसारका महलभन्दा ठूलो मूल्य बोकेका छन्।
जिन्दगीको एउटा मोडमा उनी यस्तो क्षणसँग जुध्नुपर्यो, जहाँ शब्दभन्दा बलियो थियो मौन पीडा। श्रीमतीको ज्यान बचाउन दौडँदै रक्तदान केन्द्र पुग्दा उनले महसुस गरे— अरूका लागि रगत जुटाउनुपर्ने अवस्था कति पीडादायक हुन्छ! त्यस दिनको त्यो असहायता नै आजको उनको प्रेरणा हो।
दैनिक बिहान उनले जुनसुकै व्यस्तता किन नहोस्, दिउँसो १ देखि ३ बजेसम्मको समय रक्तदान केन्द्रमा बित्छ। त्यहाँ उनी कसैको रगतको खोजमा आउने चिन्तित अनुहारलाई आश्वस्त पार्छन्। उनको उपस्थिति आफैंमा भरोसाको प्रतिक हो। न्यूनतम स्रोतमा पनि मानिस कसरी खुसी बाँच्न सक्छ भन्ने पाठ उनले आफ्नै परिवारबाट सिके। १०२ वर्षीय बाबुको सान्निध्य, आफ्नै छानोमुनिको जीवन र आत्मीय परिवेश— यी सबै उनका लागि अमूल्य छन्। जीवनको मूल्य यिनै स-साना कुरामा लुकेको छ भन्ने उनी विश्वास गर्छन्।
सूचना प्रविधिमा पनि रुचि राख्ने उनले नेपालभरका ब्लड बैंकको विवरण अद्यावधिक हुने सफ्टवेयरसमेत बनाइसकेका छन्। उद्देश्य एकदमै स्पष्ट छ— बिरामी र उनका आफन्तलाई सजिलो बनाउने। तर राज्य र संस्थाले कहिले त्यसलाई अपनाउने हो भन्ने प्रतीक्षा अझै जारी छ। स्वास्थ्य प्रणालीका विकृति देख्दा उनी दुःखी हुन्छन्। रगत निःशुल्क हुने भए पनि अस्पतालमा शुल्क लाग्ने, आवश्यकता नपरीकन स्टोर गरेर राखिने, म्याद गुज्रनेजस्ता समस्याले बिरामीलाई थप पीडा दिइरहेको छ। यी विसंगतिलाई हटाउने सपना उनले बोकेका छन्।
मानवताको भावनाले भरिएको उनको यात्रा एक्लो छ, तर उद्देश्य ठूलो। कहिलेकाहीँ उनी साना बालबालिकालाई कापी–कलम दिन पुग्छन्, कहिले आँखा झल्झलाउँदो बृद्धालाई समय दिन। स–साना खुसी संकलन गर्दै उनी आफूभित्रको आनन्द फुकाउँछन्। आफ्ना आमाको शब्दहरू उनको लागि जीवनभरको मूल मन्त्र बनेका छन्— “जबसम्म दिन सकिन्छ, तबसम्म मात्र मान्छेको मूल्य रहन्छ।” यही सोचले उनलाई अहोरात्र सामाजिक सेवामा उभ्याएको छ।
संघ–संस्थामा आवद्ध भए पनि उनी आफैंलाई ‘स्काउट स्वयंसेवक’ भनेर चिनाउन गर्व गर्छन्। पद र प्रतिष्ठाभन्दा बढी, उनलाई चासो छ— कसरी केही काम अहिले गर्न सकिन्छ, किनभने भविष्यको भर छैन। उनी भन्छन्, “भोलि होइन, आज नै केही गरौं।” उनको जीवनलाई कुनै एउटा परिभाषाले बाँध्न सकिन्न। कतै उनी रक्तदाताको खोजीमा दौडिरहेका हुन्छन्, कतै स्कूलको छेउमा बच्चाहरूलाई टिफिन बाँडिरहेका। तर, जुनसुकै काममा पनि एउटै कुरा प्रस्ट हुन्छ— उनी आशाको उज्यालो बोकेर हिंडिरहेका छन्।