काठमाडौं। कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् वक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गर्नुभउएको थियो। सोही निर्णय अनुसार अर्बौं बाँकी विद्युत् बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
उनका अनुसार सोमवाररमंगलवार नै बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । शाक्यले सरकारको निर्णय मानेरै बक्यौता उठाउन लाग्ने समेत बताएका छन् ।
‘बक्यौतासम्बन्धी जुन मन्त्रीज्यूको निर्णय छ । यसलाई हामीले कार्यानवयन गर्छौं । विद्युत् प्राधिकरणको मन्त्रिज्यू नै अध्यक्ष हुने व्यवस्था छ । बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौं,’ शाक्यले भने, ‘बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं । बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोलि अथवा पर्सिमै बोर्ड बैठक बस्छ ।’
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ। प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युत्को जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ।