काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ। नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। सोही अनुसार ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश’ राष्ट्रपति पौडेलले जारी गर्नुभएको हो। प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई गृह मन्त्रालय मातहत ल्याउन सरकारले यो अध्यादेश ल्याएको हो ।
यसअघि सरकारले राअविका साथै राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग पूर्ववर्ती अवस्थामै फर्काउने निर्णय गरेको थियो । अन्य विभागहरू पूर्ववर्ती रूपमा फर्किए पनि कानुनी अड्चनका कारण राअवि भने प्रधानमन्त्री कार्यालय मातहत नै थियो ।