काठमाडौं । रास्वपा सांसद रञ्जु न्यौपानेले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर पैसा लिएकाहरूले भदौ २४ गते सुन लुटिएपछि सुन वा त्यसवापतको पैसा नपाएको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले पीडितको हारगुहार सुनिदिन आग्रह गरिन् । “नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर पैसा लिनुभएकाहरूले भदौ २४ गते जुन सुन लुटियो । त्यसपछाडि सुन पनि पाउनुभएको छैन,” उनले भनिन्, “सुनको बजार दाम पनि पाउनुभएको छैन । उहाँहरूको हारगुहार सुनिदिनुपर्यो ।”
थापाथलीस्थित प्रसूूति गृहपछाडि फोहोर प्रशोधन केन्द्र बन्न लागेको सुनेको उनले बताइन् । त्यहाँ फोहोर प्रशोधन केन्द्र नबनाउन भन्दै स्थानीयले विरोध गरेको उनले स्मरण गराइन् । उनले नजिकै अस्पताल भएकाले आमा र बच्चाको स्वास्थ्यको ख्याल गर्नुपर्ने बताइन् । सांसद न्यौपानेले स्वास्थ्य बिमा सञ्चालनमा ल्याउन समेत माग गरिन् ।