काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा निर्वाचनको समीक्षा, समसामयिक घटनाक्रम लगायत विषयमा छलफल भइरहेको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो।
नेकपाले कार्य संयोजन समितिको बैठक पहिलो पटक बोलाएको हो । साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ घटक मिलेर नेकपा गठन गरेको थियो । फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले प्रत्यक्षमा ८, समानुपातिकमा ९ सिट गरी जम्मा १७ सिट जितेको थियो। २०७० सालदेखि तेस्रो स्थानमा रहेको पार्टी यसपटक चौथो स्थानमा पुगेको छ। पार्टीले पराजय भोगेपछि फागुन २८ गते बसेको निर्वाचन परिचालन समितिको बैठकले १६५ निर्वाचन क्षेत्रकै रिपोर्ट पेश गर्न निर्देशन दिएको थियो। यसै विषयमा छलफल केन्द्रित भइरहेको आचार्यले बताए।
‘केन्द्रीय कार्य संयोजन समितिको बैठक बसिरहेको छ। चुनावी समीक्षा लगायत विषयमा छलफल केन्द्रित छ’, रातोपाटीसँग उनले भने। नेकपाको अन्तरिम विधान अनुसार ४५ जना रहने यो समितिमा संयोजक, सहसंयोजक लगायत आवश्यक सङ्ख्यामा सदस्यहरू रहने विधानमा व्यवस्था छ । केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूको चयन सहमतिका आधारमा गरिनेछ।