काठमाडौं। त्रिभुवन विश्वविद्यालय मा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि फागुन २७ गते मनोनयन दर्ता हुने भएको छ । यसअघि त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका थिए ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले भने, ‘विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ । विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।’
उनका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
मतदानको समय चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ । जसअनुसार देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ