काठमाडौं। बुधबार काठमाडौं महानगरपालिकाले ज्यादती गरेको भन्दै कबाड व्यवसायीले तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्। भृकुटीमण्डपबाट सुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयसम्म पुगेर महानगर घेराउ गरेका थिए ।
कबाड व्यवसायी सङ्घर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए। सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने माग गरे । सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने उनले बताए। कानुनको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म आन्दोलन जारी रहने उनले बताए।
शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीलाई काठमाडौंका सुकुम्बासीले पनि साथ दिएका छन् । कबाड आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गरलगायतका नारा लगाएका छन् । कबाड व्यवसायीले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।