सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा दुई दिने नि:शुल्क दन्त शिविरको समापन भएको छ । महिला शसक्तीकरण तथा बालवालिका उत्थान समाज काठमाडौंको आयोजनामा उक्त कार्यक्रमको समापन गरिएको हो । उक्त शिविरबाट ७ सय ६० जना सर्वसाधारण लाभान्वित भएका छन् । जसमा ४ सय ७० जना महिला र २ सय ९० जना पुरुष रहेका थिए । त्यस्तै, ५ सय १५ जनाले भने आँखाको परीक्षण गरेका छन् ।
'हामीले यो अभियान सिन्धुपाल्चोक जिल्ला हुँदै देशभरि नै सञ्चालन गर्ने योजना बनाएका छौँ । जसबाट सर्वसाधारणले भरपूर शिविरको सुविधा उपभोग गर्नुहोस् भन्ने हाम्रो लक्ष्य छ', महिला शसक्तीकरण तथा बालवालिका उत्थान समाजका अध्यक्ष सरोजा श्रेष्ठले भनिन् । उनले आफ्नो संस्थामार्फत महिला उत्थानको समेत कार्यक्रम बनाएको बताएकी हुन् ।
२ दिने शिविरमा आउने बिरामीहरुलाई दाँत ,आँखाको चेकजाँच र औषधी निशुल्क दिएर पठाइएको छ । साथै आयोजकले कतिपय बिरामीलाई काठमाडौंमा लगेर निशुल्क उपचार गरिदिने प्रतिबद्धता समेत गरेको छ ।