काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यन्त जरुरी सूचना जारी गरेर आगामी फागुन १ गते शुक्रबारबाट विमानस्थल र आसपासको क्षेत्रमा सभा, भेला, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको हो।
पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार (फागुन १ं) गते झापाबाट फर्किंदै हुनुहुन्छ। उहाँलाई र्यालीसहिन विमानस्थलबाट भव्य स्वागत गर्ने राप्रपाले तयारी गरेका बेला स्थानीय प्रशासनले विमानस्थल र आसपासका क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा जारी भएसँगै अब पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन।
बुधबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको निषेधाज्ञा आदेशमा भनिएको छ, ‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ ।’