काठमाडौं । सेयर कारोबारमापक नेप्से परिसूचक बिहीबार ७.१७ अंकले बढेको छ । अघिल्ला ४ कारोबार दिन लगातार घटेको नेप्से बिहीबार भने उकालो लागेको छ । बुधबारको तुलनामा ०.२७ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय २९ अंकमा पुगेको छ । बिहीबार कारोबारमा आएकामध्ये १३२ कम्पनीको सेयर मूल्य बढ्यो, २३२ वटाको घट्यो भने बाँकी १३ वटाको स्थिर रह्यो ।
५७ हजार ९ सय १९ पटकको कारोबारमा ९ करोड ५० लाख ७ हजार ६६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको हो । बुधबार ३ अर्ब २९ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ वटाको मूल्य बढेको छ । बैंकिङ, जलविद्युत्, इन्भेस्टमेन्ट, जीवन बिमा, म्यानुफ्याक्चरिङ र अन्य समूहको मूल्य बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक ऋणात्मक बनेको छ ।
सबैभन्दा धेरै सेयरमूल्य बढ्ने प्रमुख ५ कम्पनीमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट, सर्वोत्तम पेन्ट्स, एनआईसी एसिया सेलेक्ट फन्ड, मान्डु हाइड्रोपाव र सानिमा मिडर तमोर हाइड्रोपावर छन् । सेयर मूल्य धेरै घट्ने मुख्य पाँच कम्पनीमा कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फन्ड, खानीखोला हाइड्रोवापर, आईसीएफसी फाइनान्स र एनआईबीएल ग्रोथ फन्ड रहेका छन् ।