आरडीसीद्वारा आयोजित सात दिने वित्तीय साक्षरता तथा प्रशिक्षक तालिम सफलतापूर्वक सम्पन्न

Nagarik Sewa 4392+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

 रौतहट/ अरुण पटेल ।  ग्रामिण बिकाश केन्द्र नेपाल (RDC Nepal) को योजनामा तथा  KOICA र Oxfam in Nepal को आर्थिक सहयोगमा सञ्चालित “Empowering Her” परियोजनाअन्तर्गत आयोजित सात दिने वित्तीय साक्षरता तथा प्रशिक्षक तालिम (Training of Trainers ) सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिम राजदेवी नगरपालिका र बृन्दावन नगरपालिकाका प्रत्येक वडाबाट प्रतिनिधित्व गर्ने गरी महिला सहभगी तथा सहजकर्ताहरूको सहभागितामा सम्पन्न भएको हो। “Empowering Her” परियोजना दुबै नगरपालिकामा तीन वर्षसम्म सञ्चालनमा रहनेछ।

तालिममा सहभागी महिलाहरूले आय व्यवस्थापन, खर्च नियन्त्रण, बचत प्रवृत्ति, ऋणको विवेकपूर्ण प्रयोग, र साना उद्यम सुरु गर्ने सीप लगायतका विषयहरूमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरे। उनीहरूले सिकेका सीपहरू आफ्ना समुदायमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तालिम अवधिमा सहभागीहरूले घरेलु बजेट योजना, समूहगत बचत अभ्यास, वित्तीय योजना निर्माण र व्यवसायिक रणनीति सम्बन्धी गहन प्रशिक्षण लिएका थिए। सहभागीहरूको उत्साहपूर्ण सहभागिता र सिकाइको तत्क्षण प्रभाव तालिमको सफलताको प्रमुख आधार बन्यो।

RDC नेपाल को अध्यक्ष डा. पारस  हुसैनको मन्तव्य:

"वित्तीय साक्षरता केवल ज्ञान होइन, सशक्त निर्णयको आधार हो। महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने हाम्रो प्रयास यो तालिममार्फत अझ प्रभावकारी बनेको छ। 'Empowering Her' परियोजना ग्रामीण महिलाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने दिशामा दृढतापूर्वक अघि बढिरहेको छ।"

'Empowering Her' परियोजनाको मूल उद्देश्य ग्रामीण महिलाको वित्तीय पहुँच, नेतृत्व विकास, उद्यमशीलता र सामाजिक–आर्थिक अधिकारमा सशक्तीकरण गर्नु हो। यस्ता तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर मात्र होइन, समुदायमा परिवर्तनको अभियन्ता बनाउन समेत मद्दत गरिरहेको RDC Nepal को भनाइ छ।

सामाजिक सन्दर्भ र आवश्यकता:

रौतहटजस्ता मधेश क्षेत्रका भागहरूमा लैंगिक हिंसा, घरेलु हिंसा र आत्महत्या जस्ता समस्याहरू बढ्दै गइरहेका छन्। यस्ता समस्याहरू न्यूनीकरण गर्न महिला सशक्तीकरण अपरिहार्य छ। RDC Nepal विगतदेखि नै यस्ता गम्भीर सामाजिक समस्याहरूमाथि कार्य गर्दै आएको छ, र महिलाहरूलाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक रूपमा सक्षम बनाउने कार्यमा अग्रसर छ।

मधेशका केही क्षेत्रहरूमा पानीको अभाव रहेको अवस्थालाई दृष्टिगत गर्दै RDC Nepal ले स्वच्छ पानीको पहुँच विस्तार गर्ने अभियान पनि अगाडि बढाएको छ। यस पहलमा Oxfam Nepal को सहयोगलाई संस्थाले विशेष धन्यवाद दिएको छ।

तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा RDC Nepal का अध्यक्ष डा. हुसैनले सबै सहभागी, प्रशिक्षक, साझेदार संस्था तथा सहयोगदाताहरूप्रति आभार व्यक्त गर्दै तालिमको औपचारिक समापन गरेका थिए। 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार