काठमाडौं । ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियानअन्तर्गत लोकप्रिय समाचार राष्ट्रिय दैनिक ले आफ्नो स्थापना दिवस र प्रकाशक नेत्रबहादुर बस्नेतको जन्मदिन अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। सिन्धुपाल्चोकको चौतारासाँगाचोकगढी नगरपालिका–१४ मा रहेको ऐतिहासिक थानबारे डाँडामा आयोजित कार्यक्रममा वृक्षरोपणसहित “जन्मोत्सव पार्क” निर्माण कार्यको शुभारम्भ गरिएको हो।
इतिहासकारहरूले जनाएअनुसार यस डाँडाबाट अभिमानसिंह बस्नेतको नेतृत्वमा गोर्खाली सेनाले अंग्रेजसँगको युद्धमा विजय प्राप्त गरेका थिए। त्यहाँ अझै पुराना बङ्कर र सुरुङ भेटिनुले यसको संरक्षण आवश्यक रहेको आयोजक बस्नेतले बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद सापकोटा प्रमुख अतिथि, वडा अध्यक्ष उद्धव नेपाल विशिष्ट अतिथि र अभियानका अवधारणाकार नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सचिव गोविन्द चौलागाईंसहित सुरक्षाकर्मी तथा सरोकारवालाको सहभागिता थियो।
सभापति राम्चे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बलराम बस्नेतले प्रत्येक नागरिकले आफ्नो जन्मदिनमा वृक्षरोपण गरेमा देशको विकास र वातावरण संरक्षणमा ठुलो योगदान पुग्ने बताए। बन डिभिजन कार्यालयका अधिकृत मदन कडेलले पार्क निर्माणका लागि सहयोग गर्ने र निःशुल्क बिरुवाको व्यवस्था गर्ने प्रतिबद्धता जनाए।
यसअघि रौतहट र काभ्रेपलाञ्चोकमा अभियान सञ्चालन भइसकेको भए पनि जन्मोत्सव पार्क निर्माण गर्नेमा सिन्धुपाल्चोक पहिलो भएको चौलागाईँले जानकारी दिए। कार्यक्रममा सहभागी सबै अतिथिहरू र स्थानीयले १–१ वटा बिरुवा रोपे।
स्थानीय बासिन्दा, सरोकारवाला, सञ्चारकर्मी र विद्यार्थीको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा पार्कलाई ऐतिहासिक सम्पदा र हरियालीसँग जोड्दै आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता गरिएको छ।