काठमाडौं। कैलाली बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको मलामी बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा आइतबार दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको डीएसपी टेकबहादुर जोराले जानकारी दिए । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।