कस्तो बन्ला बालेन सरकार ?

Nagarik Sewa 4424+ समाचार ( )
२७ फाल्गुन २०८२, बुधवार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि करिब सकिएको छ । अब समानुपातिकतर्फका सांसद चयन बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले ५१ लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । यसपछि क्रमशः नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छन् ।

प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५१ लाख मत कटाएको रास्वपा एकल दुईतिहाइ बहुमतनजिक देखिन्छ । यही फागुन २१ गतेको निर्वाचनमा विजयी भएपश्चात् रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौंकेन्द्रित छन् ।  रास्वपाका स्रोतका अनुसार, दुई नेताबीच भेटघाट, छलफल भइरहेको छ । 

“सभापति र वरिष्ठ नेता काठमाडांैमै हुनुहुन्छ । दुवै नेताबीच निरन्तर छलफल, भेटघाट भइरहेको छ । कसैसँग मिलेर सरकार बनाउनुपर्ने भए झन्झट हुन्थ्यो, प्रधानमन्त्री यसअघि नै घोषणा गरेर चुनावमा गएको हो,” ती नेताले बाह्रखरीसित भने ।  रवि र बालेनबीच यसअघि पुस १३ गते दुईपक्षीय सहमति भएको थियो । 

पार्टी सभापति रवि र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उमेदवार बालेन हुने दुई नेताबीच सहमति थियो । रास्वपाका एक निर्वाचित सांसदले भने, “बालेनजीलाई नै प्रधानमन्त्री बनाउने कुरामा दुई मत छैन । विगतमा भएको सहमतिअनुसार नै बालेनजी प्रधानमन्त्री बन्नुहुन्छ ।”  बालेन प्रधानमन्त्री बनेपछि उनको मन्त्रिपरिषद् कस्तो हुने भन्ने विषयमा छलफल नभएको ती नेताको भनाइ छ । 

“अहिले बालेन नेतृत्वको सरकारका गृहमन्त्री र अन्य मन्त्रीहरू को बन्ने भन्ने विषयमा चर्चामा छ । पार्टीले कसैलाई मन्त्री बनाउने भनेर टिकट दिएको थिएन । अहिले पनि कसैसँग त्यस्तो लबिइङ गरेको छैन,” ती नेताले भने, “मन्त्रालयलाई जसले न्याय गर्न सक्छ, विज्ञताको आधारमा देशले कसरी निकास पाउँछ, त्यहीअनुसार पार्टी अगाडि बढ्छ ।”  रास्वपाबाट निर्वाचित १२५ सांसद आआफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित रहेका रास्वपाले जनाएको छ । 

“जनताहरूले यति धेरै विश्वास गरेर भोट दिनुभयो । अहिले उहाँहरूले घरघरमा आउनुपर्‍यो भनेपछि त्यतैतिर व्यस्त छौँ । बाहिर जुन प्रकारले मन्त्रिपरिषद् गठनको प्रक्रिया सुरु भयो भनेर आइरहेको कुरा छ, त्यो होइन,” काठमाडौं–६ बाट निर्वाचित सांसद शिशिर खनालले भने । उनका अनुसार, सभापति लामिछाने खुट्टाको पुरानै ‘इन्फेक्सन’का कारण अहिले पनि आराम गरिरहेका छन् । 

“सभापतिको खुट्टाको पुरानै समस्याले घरमै आराम गरेर बसिरहनुभएको छ,” उनले भने ।  अन्तिम मतपरिणाम सार्वजनिक भइसकेपछि बन्ने सरकारका विषयमा कुनै दुविधा र अन्योल नरहेको बालेननिकट अर्का नेताको भनाइ छ । “अन्तिम मतपरिणाम पर्खाइमा छौँ । बालेन टिम, रास्वपा टिमभन्दा पनि जनताको विश्वासलाई कसरी देश निर्माणको मार्गमा लैजाने भन्ने कुरा प्रमुख हो । त्यस्तो कुनै विवाद, शंका, उपशंका केही पनि छैन,” स्रोतले भन्यो । 

रास्वपाकी प्रवक्ता प्रतिभा रावलले पार्टी समानुपातिकको अन्तिम मतपरिणामको पर्खाइमा रहेको बताइन् ।  “यति बेला समानुपातिकतर्फको अन्तिम मतपरिणामको गणना जारी  नै छ । पार्टी अन्तिम मतपरिणामको पर्खाइमै छ । मतपरिणाम सकिएपछि सरकार गठनको प्रक्रिया सुरु हुने हो,” उनले भनिन् । 

अन्तिम मतपरिणाम घोषणापछि रास्वपा बहुमतप्राप्त दलको हैसियतले सरकारको नेतृत्वको हकदार हुनेछ ।  प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ अनुसार, निर्वाचन आयोगले अन्तिम नतिजा घोषणा भएको एक साताभित्र परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्नेछ । त्यसपछि सरकार गठन प्रक्रिया थालनी हुन्छ ।

अनि, नेपालको संविधानको धारा ७६ (१) बमोजिम बहुमतप्राप्त दललाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरी सरकार गठन प्रक्रिया अघि बढ्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार