काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३)लाई कारोबारमा प्रतिबन्ध लगाएपछि सेयर बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ । तोकिएको समयभित्र राफसाफ तथा फर्छ्योट कार्य नगरेको आरोपमा गरिएको यो निलम्बनले हजारौँ लगानीकर्ताको सेयर कारोबार रोकिन पुगेको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेप्सेले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा यही भदौ ३ गते तीन कार्यदिनका निम्ति उक्त ब्रोकरलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, सिफारिस र निर्णय दुवै एकैदिन गरिएकाले नियामकीय प्रक्रियामाथि प्रश्न उठाइएको छ । संघका महासचिव रवीन कँडेलका अनुसार, यति हतारमा निर्णय गर्दा हजारौँ ग्राहकको हित र उनीहरूको सम्पत्तिको सुरक्षाबारे कुनै विचार गरिएको छैन । निलम्बनको पत्रमा ग्राहकको मौज्दात रकम, सेयरको सुरक्षा र चालु अवस्थामा रहेका कारोबारको फर्छ्योटबारे कुनै स्पष्ट मार्गचित्र नहुनुले लगानीकर्तामा त्रास फैलिएको उनको भनाइ छ ।
ब्रोकर वा त्यसका पदाधिकारीले गरेको गल्तीको सजाय निर्दोष लगानीकर्तालाई दिनु सामूहिक दण्डको अभ्यास भएको र यो न्यायोचित नदेखिएको संघले जनाएको छ । बजार घटिरहेका बेला सेयर बेच्न वा उपयुक्त अवसरमा किन्न नपाउनुले लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति पुग्ने संघको भनाइ छ ।
यो कार्य नेपालको संविधानद्वारा प्रत्याभूत न्याय र सम्पत्तिको हकको मर्मविपरीत र धितोपत्रसम्बन्धी ऐन, २०६३ को भावनाको प्रतिकूल रहेको लगानीकर्ता संघको ठहर छ । यो संवेदनशील घडीमा नेपाल धितोपत्र बोर्डले समस्या समाधान गर्नुको सट्टा गैरजिम्मेवार बहानाबाजी गरेको भन्दै संघले आलोचना गरेको छ । “नियामकको मुख्य दायित्व बजारलाई सुरक्षित रूपमा सञ्चालन हुन दिनु हो, न कि कारोबार नै रोकेर लगानीकर्ताको विश्वास धरापमा पार्नु,” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघले आमलगानीकर्ताको हितका निम्ति भन्दै विभिन्न माग पनि अघि सारेको छ । “सम्बन्धित ब्रोकरका ग्राहकहरूको कारोबार तत्काल सुचारु गरियोस् वा वैकल्पिक कारोबारको व्यवस्था मिलाइयोस् । त्रुटि गर्ने ब्रोकर र पदाधिकारीमाथि मात्र लक्षित गरी स्वतन्त्र अनुसन्धान र कडा कारबाही गरियोस्,” संघले भनेको छ, “निलम्बन अवधिमा ग्राहकको रकम र सेयरको सुरक्षाबारे नेप्से र सीडीएससीले तत्काल आधिकारिक जानकारी सार्वजनिक गरोस् । भविष्यमा यस्ता समस्या दोहोरिन नदिन ‘ग्राहक खाता’ छुट्टै राख्ने कडा व्यवस्था, तत्काल ब्रोकर स्थानान्तरण संयन्त्र र क्षतिपूर्ति कोषको प्रभावकारी परिचालन गरियोस् ।” कारोबार रोकेर लगानीकर्ता र बजारको मूल्य–मर्ममाथि प्रहार गर्ने कार्यले समग्र पुँजी बजारप्रतिको विश्वास नै संकटमा पर्न सक्ने चेतावनी समेत संघले दिएको छ ।