काठमाडौं । काठमाडौं जिल्ला अदालतमा मंगलबार (कात्तिक १०) मात्रै वैवाहिक सम्बन्ध अन्त्य गर्न सम्बन्धविच्छेदका ४७ मुद्दा सुनुवाइका लागि पेसी सूचीमा चढे । पेसी सूचीअनुसार, सम्बन्धविच्छेदका मुद्दा दोस्रो नम्बरमा दर्ज भएका छन् । बैंकिङ कसुरसँग सम्बन्धित मुद्दा पहिलो नम्बरमा छन् । चेक अनादर तेस्रो र लेनदेनसम्बन्धी चौथो नम्बरमा छन् । सम्बन्धविच्छेदका लागि आउनेमा ३० वर्ष हाराहारीको उमेरका जोडी धेरै देखिएका छन् । कारणमा मन नमिलेको देखाउने गरिएको अदालतका अधिकारी बताउँछन् ।
काठमाडौं अदालतको रेकर्डअनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै चार हजार ५८९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि चार हजार ४६६ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका थिए । त्यसअघि आर्थिक वर्ष २०७९/८० मा ५ हजार १७४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको तथ्यांकबाट देखिन्छ । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८१/८२ मा देशभर २४ हजार ५२२ वटा सम्बन्धविच्छेद दर्ता भएको देखाएको छ, यो मासिक औसत दुई हजारभन्दा बढी हो । त्यसअघि २०८०/८१ मा २३ हजार ३५५ को संख्यामा दर्ता भएका थिए । एक वर्षको अन्तरालमा सरदर एक हजारको बढोत्तरीको ‘ट्रेन्ड’ हेर्दा पनि सम्बन्धविच्छेदको अवस्था जटिल बन्दै गएको देखाउँछ ।
काठमाडौं अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार, सम्बन्धविच्छेद मुद्दाको प्रवृत्ति बर्सेनि बढ्दो रूपमा रहेको छ । खासगरी श्रीमान् वैदेशिक रोजगारीमा रहेको, लामो समयदेखि सम्पर्क नभएको भन्ने ‘केस’हरू बढी आइरहेका उनको भनाइ छ । “कतिपयमा खान लाउन नदिएको, बालबच्चा नहेरेको, मानसिक तनाव, शारीरिक यातना, हेलाँ गरेको भन्ने पनि हुन्छ,” खतिवडाले बाह्रखरीसँग भने, “युवायुवती जोडीको बाहुल्यता छ । तर, उमेर समूहको डेटा राख्ने गरिएको छैन । हरेक दिनजसो करिब अवस्था उस्तै हो ।”
उनका अनुसार, डिभोर्सअघि ‘मानाचामल’, ‘अंश मानचामल’ भनेर पनि आउने गरेको छ । ट्रेन्ड हेर्दा ‘डिभोर्स’ बर्सेनि बढ्दै गएको खतिवडाले जानकारी दिए । “धेरै युवा विदेश जाने, यता घरमा नबस्ने । सम्बन्धविच्छेद गरेर अंश लिएर अर्को विहे गर्ने अवस्था पनि बढ्दो छ,” खतिवडा भन्छन्, “यो गलत प्रवृत्ति पनि हो । समाजलाई राम्रो सन्देश दिँदैन ।” खतिवडाका अनुसार, मिलापत्रका रूपमा सम्बन्धविच्छेद गर्ने मात्र नभएर वैदेशिक रोजगारीमा ‘डिपेन्डेन्ट’मा जान पहिले पत्रकै लागि ‘कोर्ट म्यारिज’ गर्ने र भविष्यमा त्यस्तो अवस्था कायम नभएपछि सम्बन्धविच्छेद हुने अवस्था पनि देखिएको छ ।
नेपाल बार एशोसिएसनकी पूर्वमहासचिव अञ्जिता रावलले पछिल्लो समय महिलाहरू आर्थिक रूपमा अलि स्वतन्त्र भएका कारणले पनि सोचमा परिवर्तन आएको छ । उनका अनुसार, स्वतन्त्र हुँदा सबै हिजोकै संस्कारसँग रहन नचाहने सोच हुनसक्छ । “हिजोको त्यो रोल चेन्ज गर्न खोज्दा विवादको रूप लिने रहेछ । शिक्षा, चेतनाको विकाससँगै आर्थिक रूपमा सबल हुँदा अवस्थामा परिवर्तन आउने हुँदो रहेछ,” अधिवक्ता रावल भन्छिन्, “परिवार, श्रीमान्ले एकै किसिमको भूमिका खोज्ने, महिलाले सहन नसक्ने भएपछि सँगै बस्न नसक्ने र डिभोर्समा जाने देखिएको छ । शिक्षासँगै संस्कारमा परिवर्तन आउँदा ‘डिबेट’ सिर्जना हुने गरेको छ । ‘डिबेट’ गरेर बस्नुभन्दा अलग बस्नु बेस भन्ने कारण देखिन्छ ।”
रावलका अनुसार, युवा–युवती मात्र नभएर वृद्ध अवस्थामा पनि डिभोर्स गर्ने प्रवृत्ति देखिएको छ । “अलिकति स्वतन्त्र लाइफ बिताउँ न भन्ने हुने रहेछ,” अधिवक्ता रावलले भनिन्, “हामीले नै ६३ वर्ष उमेरका व्यक्तिको डिभोर्स गराएका छौँ ।” उनका अनुसार, नयाँ देवानी संहिताले पुरुषलाई सिधै अदालतमा जाने सुविधा दिएका कारण पनि सहज भएको छ । वैदेशिक रोजगारीले पनि असर पारेको उनको भनाइ छ । “यो अवस्था केटाकेटी दुुवै पक्षको छ,” उनले भनिन् ।
अधिवक्ता रावलले शिक्षामा फड्को मारे पनि फिरादपत्रका लागि ‘स्टोरी’ बनाउने कानुन र अदालत परम्परावादी हुँदा सबै खालका डिभोर्समा फिरादको व्यहोरा उस्तैउस्तै खालको हुने गरेको बताइन् । “अहिलेको नयाँ परिस्थिति र परम्परामा अलि तालमेल मिलेको छैन,” उनले भनिन् । अदालतका अधिकारीका अनुसार सम्बन्धविच्छेदका मुद्दामध्ये बढीजसो महिलाबाटै दायर हुने गरेका छन् । मुलुकी देवानी संहिता (ऐन) २०७४, अनुसार मन्जुरीबिना तीन वर्ष वा सोभन्दा बढी समय अलग बस्नु, खान–लगाउन नदिनु वा घरबाट निकाल्नु, गम्भीर शारीरिक वा मानसिक यातना दिनु तथा विवाहबाहिर शारीरिक सम्बन्ध कायम हुनु अदालतमा सम्बन्धविच्छेद माग गर्न सकिने आधार हुन् ।
नेपाल ल कलेजमा ‘फेमिली ल’ प्राध्यापनरत अधिवक्ता डा. विष्णु बस्याल ‘डिपेन्डेन्ट’मा विदेश जाने बढ्नु पनि सम्बन्धविच्छेदको एउटा कारण रहेको बताउँछिन् । अर्को, ‘एक्स्ट्रा मेरिटियल अफेयर्सका केस’हरू पनि रहेको डा.बस्यालको भनाइ छ । “मोबाइलमा कुरा गर्ने र सामाजिक सञ्जालको पनि बढ्दो प्रभाव छ,” डा. बस्याल भन्छिन्, “मैले पनि अदालतमा ज्येष्ठ नागरिक जोडीकै पनि डिभोर्स गराइदिएकी थिएँ । छोराछोरी पनि हुर्के, नागरिकता पनि पाए । अब किन सहेर बस्ने भन्ने कुरा पनि छ ।”
बस्यालका अनुसार, पहिले श्रीमान्सँग श्रीमती आश्रित थिए । सहने र चुप लाग्ने भन्ने थियो । “अहिले ‘पावर थ्योरी’ भनिन्छ नि, आफ्नो खर्च आफैँ गर्न सक्ने र खर्च माग्न नपर्ने भएपछि के भयो र भन्ने पनि छ,” बस्याल भन्छिन्, “विदेश गएर फर्केपछि पारिवारिक जञ्जालमा बस्नुभन्दा भिन्नै बस्छु भन्ने पनि देखिएको छ ।” काठमाडौंमा ठूलो जनसंख्याको बसोबास भएकाले पनि यहाँ डिभोर्स गर्नेहरूको संख्या बढी भएको हुन सक्ने उनको भनाइ छ ।