काठमाडौं । आईसीसी टी–२० विश्वकप–२०२६ को पहिलो खेलमा नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार श्रीलंकाको कोलम्बोमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको हो ।
नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३७ रन बनाए । उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । बास डे लिडेले २५ बलमा चार चौकासहित ३० रन थपे । ओपनर माइकल लेभिटले १५ बलमा तीन चौका र एक छक्कासहित २४ रन बनाए ।
कोलिन एकरमनले २० रन जोडे । आर्यन दत्तले १३ रन थपे । लोगन भान विक ‘गोल्डेन डक’ भए । पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए । अब्रार अहमेद, सैम अयुब र मोहम्मद नवाजले समान दुई विकेट लिए । साहिन साह अफ्रिदीले एक विकेट हात पारे ।प्रतियोगितामा पाकिस्तान र नेदरल्यान्ड्स समूह ‘ए’मा छन् । यो समूहमा यी दुई टिमसँगै नामिबिया, अमेरिका र भारत छन् । आजदेखि सुरु भएको प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गर्दैछन् ।