काठमाडौं । मादक पदार्थ सेवन गरी गाडी चलाएको स्वीकार गरेपछि अस्ट्रेलियाका पूर्वब्याटर डेभिड वार्नरलाई एक हजार ५०० अस्ट्रेलियन डलर जरिबाना लगाइएको छ । अदालतले उनको कारमा ‘इन्टरलक डिभाइस’ जडान गर्न पनि आदेश दिएको छ । यो उपकरण जडान गरेपछि ड्राइभरको शरीरमा मदिराको मात्रा पत्ता लागेमा गाडी स्टार्ट हुँदैन ।
गत अप्रिलमा सिड्नीको पूर्वी क्षेत्रमा प्रहरीले वार्नरलाई रोकेर मदिरा परीक्षण गरेको थियो । प्रारम्भिक परीक्षणमा नतिजा पोजिटिभ आएपछि वार्नरलाई मारौब्रा प्रहरी चौकी लगेर पुनः परीक्षण गरिएको थियो । दोस्रो परीक्षणमा उनको रगतमा मदिराको मात्रा ०.१०४ रहेको पाइएको थियो, जुन कानुनी सीमाभन्दा दोब्बरभन्दा बढी हो । यो घटनाले विश्वभरका सञ्चारमाध्यममा चर्चा पाएपछि वार्नरले सार्वजनिक रूपमा ठूलो क्षति व्यहोर्नु परेको भन्दै उनका वकिलले थप सजायबाट छुट दिनुपर्ने तर्क गरेका थिए । अब वार्नरले ‘इन्टर लक डिभाइस’ जडान गरेपछि मात्रै पुनः कार चलाउन पाउनेछन् ।