काठमाडौं । नेपाल विश्व व्यापार संगठनको व्यापार तथा वातावरणसम्बन्धी समिति (सीटीई) को अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएको छ । स्वीट्जरल्यान्डको जेनेभमा बुधबार (फागुन २७ गते) सम्पन्न महासभाको बैठकबाट नेपाल सीटीईको अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएको हो ।“जेनेभामा ११ मार्च २०२६ मा सम्पन्न महासभाको बैठकबाट जेनेभास्थित नेपाली स्थायी नियोगका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी एक वर्षको कार्यकालका लागि विश्व व्यापार संगठनको व्यापार तथा वातावरणसम्बन्धी समिति (सीटीई) को अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएको जानकारी सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ,” परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सीटीई भनेको व्यापार नीतिहरूको वातावरणमा प्रभाव र व्यापारमा वातावरण नीतिहरूको प्रभावमा विश्व व्यापार संगठनका सदस्यहरूबीच संवाद गर्न र वातावरणीय रूपमा दिगो व्यापार र जलवायु–सम्बन्धित व्यापार उपायहरूलाई प्रवर्द्धन गर्न, छलफललाई सहज बनाउन समर्पित मञ्च हो ।
“नेपालको लागि यो नेतृत्वदायी भूमिका यस्तो समयमा आएको छ जब नेपालले अल्पविकसित राष्ट्रको स्थितिबाट ‘ग्रयाजुएट’ हुने तयारी गरिरहेको छ र विश्वव्यापी बजारमा हाम्रो व्यापारको बृहत्तर एकीकरणको लागि सबै विश्व व्यापार संगठन सदस्यहरूसँग नजिकबाट काम गरिरहेको छ,” परराष्ट्रले भनेको छ ।