काठमाडौं। मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन हिंसात्मक नहुने बताउनुभएको छ। लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताउनुभएको हो।
उहाँले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिनुभयो। अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने उल्लेख गर्नुभयो। सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उहाँको भनाई थियो ।
यस पटकको आफूहरूको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने उहाँले दाबी गर्नुभयो । त्यस्तै केही दिन अघि प्रधानमन्त्री केपी ओलीले संसद्मा सम्बोधनका क्रममा ‘हामी त बुढो भयौँ, तपाईं चाहिँ भाग्न मिल्छ’ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरूलाई हेलिकप्टर सुविधा दिने टिप्पणी गर्नुभयो ।
त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आफूहरूको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताउनुभयो। अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरूले खाने उनले बताउनुभयो। उहाँले अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गर्नुभयो।