चितवन। जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि नै थुनछेक बहस सुरु भएको थियो । तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो ।

आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । आज जिल्ला न्यायाधिवक्ताहरु बारा जिल्लाबाट शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले क्रमशः बहस गर्नेछन्। प्रतिवादी रवि लामिछानेकोतर्फबाट बहसका लागि वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले नाम दर्ता भएको छ । थुनछेक बहस सकिएमा न्यायाधीशले साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे निर्णय लिने छन् ।
रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी बुधबार नै बयान दिन अदालत पुगेका थिए । बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।