काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी समस्या नियमन प्राधिकरण, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका सदस्यहरूलाई एकै ठाउँमा राखेर छलफल गर्नुभएको थियो।
छलफलमा उहाँले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हातमा छाड्न नहुने बताउनुभयो। ‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू महंगा सुनका घडी लगाएर हिँड्छन् । गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं ।’
अहिलेकै सरकारले यो समस्या समाधान नगरे अरु कसैले पनि नगर्ने उनहाँको भनाइ थियो। सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उहाँको भनाइ थियो।