काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । मंगलबार (भदौ ९) देउवा र खड्काले भिन्नाभिन्नै रूपमा पूरक निवेदन दर्ता गराएका हुन् ।
गएको शुक्रबार देउवाले महाधिवेशन रोक्न रिट निवेदन पेस गरेका थिए । तर, ‘करेक्सन’ गर्नुपर्ने बताउँदै फिर्ता लगेका थिए । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले पुनरवलोकनको पूरक निवेदन दर्ता भएको जानकारी दिए । “दुईवटै पूरक निवेदन दर्ता भएको छ । सुनुवाइका लागि भदौ ११ गतेका लागि पेसी तय भयो,” कोइरालाले बाह्रखरीसँग भने, “यो रिट नभएर पुनरवलोकन निवेदनको पूरक निवेदनका रूपमा दर्ता भएको हो ।”
उनले अगाडि भने, “विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयका विषयमा पुनरवलोकनको निस्सा पाएर मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनका कुनै पनि क्रियाकलाप अघि नबढाउन अन्तरकालीन आदेशको माग छ ।”
देउवाले निवेदनमा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भनेर खुलाएका छन् । खड्काले आफूलाई निवर्तमान कार्यवाहाक सभापति भनेका छन् । उक्त निवेदन अब तीन न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइ हुने प्रवक्ता कोइरालाले जानकारी दिए ।
वारेसमार्फत भिन्नाभिन्नै रूपमा निवेदन दर्ता गराइएको हो । देउवा र खड्काले यसअघि ०८२ साल पुसमा सम्पन्न विशेष महाधिवेशन एवम् निर्वाचन आयोगले वैधता दिने गरी सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसलामा पुनरवलोकन निवेदन दिएका थिए । उक्त पुनरवलोकनमा सर्वोच्चबाट सुनुवाइ अघि बढाउन निस्सा (अनुमति) प्रदान भएको छ ।